महोत्तरी — ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन्। पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली काठमाडौंका बौद्ध र गौशाला प्रहरी वृत्तमा समेत मुद्दा बाँकी रहेको अवस्थामा महोत्तरी प्रहरी कार्यालयबाट फरार भएका हुन्।
महोत्तरीमा दर्ता भएका मुद्दामा जिल्ला अदालतले २२ भदौमा पराजुलीलाई १५–१५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाएपछि उनलाई अन्य स्थानमा विचाराधीन मुद्दाको अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको थियो।
सोही क्रममा एकैपटक ५/६ जना थुनुवालाई अदालतबाट प्रहरी कार्यालय ल्याइएको र आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा पराजुली फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीका एसपी श्याम सारु मगरले घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो नभएको दाबी गर्दै ड्युटीमा रहेका सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाएर पराजुली भागेको बताएका छन्। उनका अनुसार घटनाबारे आन्तरिक छानबिन भइरहेको छ।
घटनाका अनुसन्धान अधिकृत इन्स्पेक्टर विश्वम्भर नाथ साहले पनि पराजुलीलाई भगाइएको नभई सुरक्षा व्यवस्थामा भएको कमजोरीको फाइदा उठाएर उनी फरार भएको दाबी गरेका छन्।
यद्यपि, अर्को प्रहरी कार्यालयमा बुझाउनुपर्ने अभियुक्त प्रहरीकै नियन्त्रणबाट कसरी उम्किए भन्ने विषयमा प्रश्न उठेको छ। घटनामा सुरक्षाकर्मीको लापरबाही वा अन्य कुनै कारण भए/नभएको विषय छानबिनबाट स्पष्ट हुने प्रहरीले जनाएको छ।
पराजुलीलाई मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो। उनीविरुद्ध काठमाडौंलगायत विभिन्न स्थानमा बैंकिङ कसुर, ठगी तथा विश्वासघातसम्बन्धी उजुरी तथा मुद्दा रहेको प्रहरी विवरणमा उल्लेख छ।



