back to top
21.4 C
Kathmandu
Monday, July 6, 2026

अस्पतालहरूको प्रतिबन्धप्रति औषधि प्रतिनिधि संघको आपत्ति, समन्वयमार्फत समाधान खोज्न आग्रह

काठमाडौँ — नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौंले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्न आग्रह गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा सिभिल अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताललगायत प्रमुख स्वास्थ्य संस्थाहरूले औषधि प्रतिनिधिहरूको अस्पतालभित्रको भ्रमणमा लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएको छ। यस्तो प्रतिबन्धात्मक नीतिले औषधि प्रतिनिधिहरूको नियमित कार्यसम्पादनमा प्रत्यक्ष अवरोध सिर्जना गरेको उल्लेख गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराइएको छ।

काठमाडौंका अध्यक्ष कोषराज अवस्थीका अनुसार संघले विगतदेखि नै अस्पतालहरूसँग समन्वय गर्दै औषधि प्रतिनिधिहरूको भ्रमणलाई व्यवस्थित बनाउन पहल गर्दै आएको छ। हालसम्म २४ वटा अस्पतालमा ‘प्रि–अपोइन्टमेन्ट’ प्रणाली लागू गरी कार्यलाई व्यवस्थित बनाइएको उनले जानकारी दिए।

तर, प्रमुख सरकारी अस्पतालहरूले पुनः कडाइका साथ प्रतिबन्ध लगाउन थालेपछि समस्या जटिल बन्दै गएको संघको भनाइ छ।

संघले औषधि कम्पनीहरूको भूमिकाप्रति पनि प्रश्न उठाएको छ। आफ्ना कर्मचारीका लागि सुरक्षित र व्यवस्थित कार्यस्थल सुनिश्चित गर्नु रोजगारदाताको दायित्व भए पनि यस विषयमा कम्पनीहरूको मौनता खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष अवस्थीका अनुसार हालको प्रतिबन्धात्मक नीति र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले औषधि प्रतिनिधिहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उनले दैनिक चिकित्सक भेटघाटको संख्या घटाएर यथार्थपरक बनाउन, साथै यात्रा भत्ता र महँगी भत्ता वृद्धि गर्न रोजगारदाता कम्पनीहरूलाई आग्रह गरेका छन्।

त्यस्तै, औषधि व्यवसाय सेवामुखी क्षेत्र भएकाले अव्यावहारिक बिक्री लक्ष्य र अत्यधिक मानसिक दबाब नदिन पनि संघले सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।

संघले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै सरोकारवालाबीच व्यावहारिक र समन्वयात्मक ढंगले समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय