काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन, व्यापार र लगानीसँग जोड्न चारवर्षे कार्ययोजना अघि सारेकी छन्।
संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीलाई चार प्रमुख प्राथमिकताका रूपमा अघि सारेकी हुन्।
झाले श्रीलंकाली बौद्ध तीर्थयात्रीलाई लुम्बिनी र कपिलवस्तुमा आकर्षित गर्न सिधा वा चार्टर उडानको सम्भाव्यता अध्ययन गर्ने योजना सुनाइन्। साथै, जनकपुरलाई श्रीलंकाका रामायणसँग सम्बन्धित स्थलहरूसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उनको योजना छ।
उनले दुई देशबीच संयुक्त पर्यटन प्याकेज निर्माण, सांस्कृतिक आदानप्रदान, व्यापार मञ्च तथा लगानी प्रवर्द्धनमार्फत द्विपक्षीय सम्बन्धलाई थप परिणाममुखी बनाउने बताइन्।
नेपाल र श्रीलंकाबीच सन् १९५७ अप्रिल १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै झाले साझा धर्म, संस्कृति र सभ्यतामा आधारित सम्बन्धलाई आर्थिक तथा संस्थागत सहकार्यमा विस्तार गर्नुपर्नेमा जोड दिइन्।
उनले सांसदहरूबाट प्राप्त सुझावका आधारमा कार्ययोजनालाई थप परिष्कृत गरी कार्यान्वयनयोग्य बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।



