काठमाडौँ — भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी (Flash Flood) र लेदोसहितको पहिरो (Mudslide) का कारण भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, KIEC ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५,५५,५५५ (पन्ध्र लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ। उक्त सहयोग रकम KIEC को मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा सङ्कलन गरी कोषमा जम्मा गरिएको हो।
अहिलेको टड्कारो आवश्यकता भनेको विपद्मा परेका नागरिकको ‘गाँस र स्वास्थ्य’ दुवै जोगाउनु हो। बाढी–पहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित रोगब्याधी (महामारी) लाई गम्भीर रूपमा लिँदै, KIEC परिवारले नगद सहयोगका अलावा विभिन्न थप राहतका कार्यहरू पनि गरिरहेको छ। प्रभावितहरूको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै हामीले “रक्तदान कार्यक्रममा सहभागी हुनुका साथसाथै अत्यावश्यक सामान संकलन गरी सम्बन्धित निकायमार्फत पीडितसमक्ष पुर्याउँदै आएको व्यहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ।”
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूलाई आवश्यक राहत पुर्याउन र सरकारी स्तरबाट भइरहेका उद्धार तथा पुनःस्थापनाका कार्यहरूमा नागरिक स्तरबाट हातेमालो गर्न हाम्रोतर्फबाट यो कदम चालिएको हो। “सरकार, यस विपद्को कठिन घडीमा तपाईं एक्लो हुनुहुन्न, हामी नागरिक र संस्थागत तर्फबाट सधैँ तपाईंको पछाडि उभिएका छौँ” भन्ने नागरिक ऐक्यबद्धता र गहिरो सहानुभूति प्रकट गर्नु नै हाम्रो यस पहलको मुख्य उद्देश्य हो।
बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति KIEC भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घटनामा घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र घरबारविहीन भएका प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको हार्दिक कामना गर्दछ।
यस विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर उद्धार तथा राहत कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्पूर्ण सरकारी एवम् गैरसरकारी निकायहरूको अदम्य साहस र समर्पणप्रति KIEC उच्च सम्मान व्यक्त गर्दछ।
नागरिक र राष्ट्र संकटमा परेको यस घडीमा आफ्नो सामाजिक दायित्व बोध गर्दै सम्पूर्ण शाखा सञ्जाललाई समेटेर हामीले यो सानो सहयोग प्रस्तुत गरेका हौँ। विपद्को मिलेर सामना गर्न र प्रभावित क्षेत्रमा राहत पुर्याउन आफ्नो क्षमता अनुसार सहयोग गर्न KIEC सम्पूर्ण व्यक्ति, व्यवसायी तथा संघ–संस्थाहरूलाई हार्दिक आह्वान गर्दछ।
“सरकार, यो कठिन घडीमा हामी तपाईंको साथमा छौँ”



