प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा अनुपतिस्थत भएका छन्।
आयोगले मंगलबार आफ्नो २५ औँ स्थापना दिवस मनाउन प्रधानमन्त्री ओलीलाई समेत आमन्त्रण गरेको थियो। तर पुल्चोकस्थित आयोगको कार्यालयमै भएको भएको कार्यक्रममा ओली अनुपस्थित भएका हुन्।
अघिल्ला वर्षहरुमा आयोगको कार्यक्रममा प्रधानमन्त्री अनिवार्य रुपमा उस्थित हुने गर्थे। तर सोमबार मात्रै ओलीको गैरजिम्मेवार अभिव्यक्तिप्रति आयोगले आपत्ति जनाएको थियो। अनुस्थितिलाई त्यहीँ विज्ञप्तिसँग जोडेर हेरिएको छ।
आयोगकी सदस्य लिली थापाले व्यस्तताका कारण प्रधानमन्त्री अनुपस्थित भएको बताइन्। उनले भनिन्, ‘उहाँ व्यस्तताका कारण नआउनु भएको हो। भन्ने मैंले जानकारी पाएँ।’
आयोग स्रोतका अनुसार ओलीले आफू संसद जानुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी सचिवालयमार्फत गराएका थिए।
जेठ १५ गते राप्रपाले राजसंस्था पुनःस्थापनाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेपछि ओलीले त्यस दिन काठमाडौँलाई एमालेले नियन्त्रणमा लिनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए।
पार्टीको सचिवालय बैठकमा ओलीले भनेका थिए, ‘निर्देशनपछि आउला, १५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो अगाडि बढौँ।’
प्रधानमन्त्रीबाटै यो तहको गैरजिम्मेवार अभिव्यक्ति आएपछि आयोगले मंगलबार आपत्ति जनाएको थियो। मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने गरी जिम्मेवार पदमा रहेको व्यक्तिले अभिव्यक्ति दिन नहुने आयोगको भनाइ छ।



