नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ । गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा नेपाल टेलिकमका टावरहरुबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्ष मार्फत सेवा पुनः सुचारु कार्यमा खटिए पश्चात साइट सुचारु भएका हुन् ।
सो कार्यका लागि बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरुमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टर मार्फत प्राविधकहरु सहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सुचारु गरिएको थियो । मिति २०८३।०५।१४ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै वाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानहरुमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।
बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरु अवरुद्ध भएका थिए भने तीनवटा साइटहरु टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।
नेपाल टेलिकमले मिति २०८३।०५।१६ मा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइटहरु सुचारु भएका छन् तथा पूर्ण रुपमा क्षतिग्रस्त भएका साइटहरुबाट उपलब्ध सेवाहरु हाल अन्य साइटहरुबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरुलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने छ ।
भदौ १० गते बाढी आएको जानकारी प्राप्त भए लगत्तै नेपाल टेलिकमका प्राविधिकहरु साइट सुचारु कार्यका लागि निरन्तर रुपमा खटिएका छन् । भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्री लगायतका उपकरणहरु पठाई सेवा सुचारु गरिएको थियो । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो । यसैगरी भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरे माथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारु गरिएको थियो । नुवाकोट जिल्ला अन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्ला अन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धन सहित कर्मचारीहरु परिचालन गरी सेवा सुचारु गरिएको थियो ।



