काठमाडौं । हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा विशेष साहित्यिक समारोह आयोजना गरिएको छ। हिन्दी भाषा तथा साहित्यको प्रवर्द्धन र नेपाल–भारतबीचको साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपालकी वरिष्ठ साहित्यकार प्रो. (डा.) भुवन ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
समारोहमा नेपालका विभिन्न साहित्यकारहरूले आफ्ना रचना तथा कविता प्रस्तुत गर्दै काव्य–पाठ गरेका थिए। साहित्यिक प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई आकर्षित गरेको थियो।
कार्यक्रममा हिन्दी भाषाका विद्यार्थी, लेखक, कवि तथा हिन्दीप्रेमीहरूको उल्लेख्य र उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले हिन्दी भाषा र साहित्यप्रतिको रुचि तथा यसको अध्ययन, लेखन र प्रवर्द्धनको महत्वबारे धारणा राखेका थिए।
समारोहले नेपालमा हिन्दी भाषा तथा साहित्यप्रतिको चासो र सक्रियतालाई उजागर गर्नुका साथै दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप नजिक ल्याउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।



