बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।
दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् । यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल गरी असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, सडक मर्मतका लागि मातहतका निकायलाई भनिरहेका छौँ, सडकको मर्मत हुन्छ ।