मिथिलांचलमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । यस पर्वमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ । यो पर्वको प्रारम्भ प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ, जसले चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास स्थापित गरेका थिए ।
छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।
व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् । सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।