नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।
विहिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।
उनले भने- ‘माओवादी अध्यक्ष् प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको स्पष्ट गरे ।