पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण सुरु गरिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा ग्राभेलिङ, स्लोप कटिङ, नाली निर्माण तथा फिनिसिङको काम भइरहेको छ।
आइतबार ग्रेडिङको काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन नयाँ ट्र्याकबाट पास गराइएको थियो। परीक्षण सफल भए पनि हाल ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।
निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ। अहिले ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण तथा करिब ४०–५० जना मजदुर परिचालन गरिएको छ।
नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक तथा नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ। निर्माण टोलीले थप पहिरो नआए तोकिएको समयमै सडक सञ्चालनमा ल्याउन सकिने जनाएको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले परीक्षणका लागि मात्र सवारीसाधन पास गराइएको भन्दै सर्वसाधारणलाई ट्र्याक खुला भइसकेको भ्रममा नपर्न आग्रह गरेका छन्।



