काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको अहिलेको सुरुङ उद्धार अभियान आफूले अहिलेसम्म सामना गरेका सबैभन्दा कठिन परिस्थितिमध्येको एक भएको बताएका छन्।
भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका कामदारको उद्धारका लागि नेपाली उद्धारकर्ताले गरिरहेको प्रयासलाई नजिकबाट नियालिरहेका डिक्सले विषम परिस्थितिका बाबजुद नेपाली उद्धारकर्मीले सम्भव भएसम्म सबै प्रयास गरिरहेको बताएका हुन्।
सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा १७ दिनसम्म फसेका ४१ जना कामदारको उद्धारमा महत्वपूर्ण भूमिका खेलेका डिक्सले नेपालमा एकैपटक धेरै स्थानमा जटिल उद्धार अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए। उनले नेपालको अवस्थालाई एकैपटक धेरै ‘सिल्क्यारा’ उद्धार अभियान सञ्चालन गर्नुपर्ने अवस्थासँग समेत तुलना गरेका छन्।
उनका अनुसार बाढीले जलविद्युत् संरचनामा ठूलो मात्रामा अस्थिर माटो, ढुंगा तथा भग्नावशेष थुपारेको छ। कतिपय सुरुङको प्रवेशमार्ग नै पहिचान गर्न कठिन भएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। प्रारम्भिक चरणमा भारी उपकरण घटनास्थलसम्म पुर्याउनसमेत कठिन हुँदा उद्धारकर्ताले हात र सामान्य औजारको सहायताले काम गर्नुपरेको डिक्सले बताएका छन्।
डिक्सले यति कठिन परिस्थितिमा पनि नेपाली उद्धारकर्मीले निरन्तर गरिरहेको प्रयासलाई असाधारण भन्दै उद्धार अभियान जारी राख्नुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी तथा अन्य उद्धार टोलीले विदेशी विज्ञ र प्रविधिको सहयोगमा सुरुङभित्र हावा पठाउने, ड्रिलिङ गर्ने, क्यामेरा तथा ड्रोनमार्फत खोजी गर्ने लगायतका प्रयास गरिरहेका छन्।



