back to top
24.1 C
Kathmandu
Saturday, May 17, 2025

नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवक पक्राउ

विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।

रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेको एसएसबी ७१ औँ बटालियनका कमान्डेन्ट प्रफुल पटेलले बताए।

सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षीय विवाहित युवतीलाई भारत लैजान लागेका  गुप्ताले पटक पटक बयान फेरेपछि कडाईका साथ सोधबुझ गर्दा युवतीलाई दिल्ली स्थित उनको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले  भारत लान लागेको स्वीकार गरेको एसएसबीले जानकारी दिएको छ।

पछिल्लो समय रौतहट र बाराको विभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्‍याउने घटना बढिरहेकाले सीमाक्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले विशेष निगरानी गर्नुपर्ने एसाएसबीले सुझाव दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवैजना लाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय