सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाउँमा डोम परिवारलाई उठीबास लगाएको घटनामा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी परेको छ।
पीडित परिवारले शनिबार दलितका अगुवासहित पुगेर जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हु । पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।
गाउँपालिका अध्यक्ष र पूर्व वडा अध्यक्षलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिइसकेका छन्। अर्को आरोपित बजरंगी बाबा भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए। जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ।
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।