भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण,प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ । भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् ।
विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन् ।
त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।