जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार पूरा गर्न जनमत निर्माण गर्ने अवसरको रुपमा लिएको बताएका छन् । स्थानीय तहको उपनिर्वाचन सन्दर्भमा बोल्दै बस्नेतले संघ, प्रदेश र स्थानीय तहबीच यथोचित साझेदारी, सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गर्दै जनअपेक्षा पूरा गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधाहरु जोडिएको हुन्छ । स्थानीय तह समावेशी लोकतन्त्र र समावेशी विकासलाई अपनत्वसहित प्रत्याभूति गर्ने प्रमुख आधार हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सवल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह आवश्यक हुने भन्दै संघीयता कार्यान्वयनका हाम्रा अनुभव, सफल अभ्यास र सकारात्मक पक्षको आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा बस्नेतले जोड दिए ।
संविधान जारी गर्दाका बखत पार्टीका केही सैद्धान्तिक विमति रहेका थिए । तसर्थ स्थानीय तह उपनिर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने उनले बताए ।