शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा कीर्ते र संगठित अपराधको मुद्दा विचाराधीन रहेको र एउटा मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई प्रधानमन्त्रीले सफाइ दिन नमिल्ने उनले बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय भवन व्यवसायी मीनबहादुर गुरुङसँग दानमा लिएकामा पनि आपत्ति जनाए ।
श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन । भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौं ।