नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई पक्राउ स्वाभाविक भएको बताएका छन्।
लामिछानेबारे अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने उनको भनाइ थियो।
तत्काल देखिएका विभिन्न विषय समेटेर माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए।
सोमवार विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। प्रतिवेदनले सिफारिश गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ।
प्रतिपक्षी दलहरुले सोमवार बेलुकी विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उनले बताए।