काठमाडौं । कलेजो रोग तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ।
म्याक्स हेल्थकेयरको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न सम्मेलनमा नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो। सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित बीएलके–म्याक्स सुपर स्पेसियलिटी अस्पतालका कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुख डा. अभिदीप चौधरी प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो।


सम्मेलनमा डा. चौधरीले कलेजो प्रत्यारोपणका क्रममा गरिने जटिल शल्यक्रिया तथा कलेजोसम्बन्धी रोगको आधुनिक उपचार पद्धतिबारे चिकित्सकहरूसँग आफ्नो लामो अनुभव र विशेषज्ञता साझा गर्नुभयो।
उहाँले कलेजो प्रत्यारोपणका लागि बिरामी छनोट, शल्यक्रियाअघि गरिने तयारी, प्रत्यारोपणका क्रममा अपनाइने आधुनिक प्रविधि, जटिल अवस्थाको व्यवस्थापन तथा प्रत्यारोपणपछि बिरामीको हेरचाहलगायत विषयमा विस्तृत प्रस्तुति दिनुभयो। उहाँले कलेजोसम्बन्धी रोगको समयमै पहिचान, सही उपचार योजना तथा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबीचको समन्वय उपचारको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो।
डा. अभिदीप चौधरीसँग १८ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव रहेको छ। उहाँले हालसम्म २ हजारभन्दा बढी कलेजो तथा कलेजोसम्बन्धी जटिल शल्यक्रिया र कलेजो प्रत्यारोपण गरिसक्नुभएको छ। उहाँ हाल नयाँ दिल्लीस्थित बीएलके–म्याक्स सुपर स्पेसियलिटी अस्पतालमा कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।
डा. चौधरीले संयुक्त राज्य अमेरिकाको पिट्सबर्गस्थित थोमस स्टार्जल प्रत्यारोपण संस्थान तथा पिट्सबर्ग विश्वविद्यालय चिकित्सा केन्द्रमा प्रत्यारोपण शल्यक्रियासम्बन्धी विशेष प्रशिक्षण तथा व्यावसायिक अनुभवसमेत हासिल गर्नुभएको छ।
सम्मेलनमा सहभागी चिकित्सकहरूले कलेजो प्रत्यारोपण तथा कलेजोसम्बन्धी जटिल रोगको उपचारमा विकसित भइरहेका नयाँ प्रविधि र उपचार विधिबारे डा. चौधरीसँग प्रत्यक्ष छलफल गरेका थिए। कार्यक्रममा चिकित्सकहरूले आफ्ना अनुभव तथा जटिल उपचारका क्रममा देखिने चुनौतीहरूबारे समेत विचार आदान–प्रदान गरेका थिए।
सम्मेलनले नेपाल र भारतका चिकित्सकबीचको चिकित्सकीय सहकार्य तथा विशेषज्ञ ज्ञान आदान–प्रदानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा कलेजोसम्बन्धी जटिल रोगको उपचार तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा कार्यरत चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित उपचार विधि र विशेषज्ञ अनुभवसँग जोड्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको थियो।
म्याक्स हेल्थकेयरले नेपालमा यस्ता चिकित्सकीय तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, विशेषज्ञ ज्ञान आदान–प्रदान गर्ने तथा जटिल रोगको उपचारमा नयाँ प्रविधि र उपचार पद्धतिबारे जानकारी उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रममा बोल्दै म्याक्स हेल्थकेयरका नेपालका लागि वरिष्ठ प्रबन्धक श्री सबिन कार्कीले नेपालप्रति संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले भविष्यमा पनि यस्ता शैक्षिक तथा चिकित्सकीय कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, कलेजो तथा प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ज्ञान आदान–प्रदानलाई थप सुदृढ बनाउने र जटिल रोगका बिरामीलाई आवश्यक विशेषज्ञ सेवा तथा उपचारको पहुँच सहज बनाउने उद्देश्य रहेको बताउनुभयो।
यस्ता कार्यक्रमले नेपाली चिकित्सकलाई अनुभवी विशेषज्ञसँग प्रत्यक्ष ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नुका साथै बिरामीको उपचारमा आधुनिक तथा प्रभावकारी उपचार विधिबारे जानकारी विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्मेलनको समापन चिकित्सकहरूबीच आपसी परिचय, अनुभव आदान–प्रदान तथा आगामी दिनमा चिकित्सकीय सहकार्य विस्तारका सम्भावनाबारे छलफलसहित गरिएको थियो।



