हिजो मिति २०८२ वैशाख १४ गते शिक्षकहरु द्वारा गरिएको २६ औं दिनको शान्तिपुर्ण आन्दोलनमा प्रहरी प्रशासनद्वारा गरिएको अत्यधिक दमन र बल प्रयोगले पाँच दर्जन भन्दा बढी शिक्षक र पत्रकार घाइते बनाउनु लोकतान्त्रिक मुलुकको निम्ति अत्यन्त दुर्भाग्यपूर्ण र दुःखको विषय हो । यस्तो राज्य आतंक र कुकृत्यको हामी घोर भत्सर्ना गर्दछौं ।
सामुदायिक विद्यालयका लाखौं विद्यार्थीको भविस्य बिग्रीरहदा सरकार गम्भीर नहुनु, माग पूरा गर्नमा उदासिनता देखाउनु र उल्टै शिक्षकहरुको शान्तिपुर्ण आन्दोलन माथि प्रहार गर्नुले सरकारको अत्याचार, निरंकुशता र दमनकारी चरित्रको उजागर भएको छ । लोकतान्त्रिक मुलुकमा यसखाले गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । समाजलाई अंधकारबाट मुक्ती दिलाउने शिक्षकहरु एक्लो नरहेको उहाँहरुको जायज मागको साथमा सम्पुर्ण न्यायप्रेमी जनता रहेकोले निरीह र असहाय ठान्ने सरकारले भुल नगरोस र यथाशीघ्र पीडित शिक्षकहरुको माग तत्काल सम्बोधन गरोस । साथै घाइते शिक्षक तथा पत्रकारहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।
तर शिक्षहरुको न्यायोचित मागको लागि २७ दिनदेखी काठमाडौंको मुख्य सडकमा अध्यापन कार्यलाई रोकी गरिएको जारी आन्दोलनले एउटा महत्वपूर्ण प्रश्न के उजागर गरेको छ भने उहाँ अधिकतर शिक्षहरु अहिलेकै सत्तासीन प्रमुख दलमै आवद्ध हुनुहुन्छ र उहाँहरुकै सरकार छ र पनि हकहितको निम्ति संघर्ष गर्नुपरेको छ । उहाँहरुकै सरकारले माग पनि सम्बोधन गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ । त्यसकारण यस्तो परिस्थितिमा या त उहाँहरुले सरकारको विरुद्धमा आन्दोलन गर्न छोड्नु पर्यो या त अधिकांश शिक्षकहरु आफुहरु आवद्ध रहेको कांग्रेस, एमाले पार्टीको आवद्धता त्याग्नु पर्यो । किनभने समाजलाई दिशा निर्देश गर्ने शिक्षकहरुको आन्दोलन माथि तीब्र रुपमा असन्तोष र प्रश्नहरु जनमानसमा उठ्न थाल्नु शिक्षकहरुको लागि चिन्तनको विषय हो। र पनि आन्दोलनरत पक्षहरुको माग तत्काल सम्बोधन हुनुपर्छ भने हाम्रो मान्यता हो।