मलङ्गवा, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।
उम्मेदवारी दर्तापछि महतोले पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गर्नुका साथै आम मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवाका साथै ब्रह्मपुरी, हरिपुर्वा र विष्णु गाउँपालिका, कबिलासी नगरपालिका तथा कौडेना गाउँपालिकाका विभिन्न स्थानमा पुगेर उहाँले मतदातासँग संवाद गर्नुभएको हो ।
भेटघाटका क्रममा महतोले संसदमा मधेशी समुदायसहित उत्पीडित तथा पछाडि पारिएका वर्गको अधिकार, पहिचान र आवाजलाई बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अधिकार र पहिचानको संघर्षलाई सशक्त बनाउन राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो ।
चुनावी अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै महतोले सर्लाही क्षेत्र नं. २ मा आफ्नो उपस्थिति मजबुत बनाउँदै लैजानुभएको छ ।






