सर्लाही, “अहिलेको समयमा पुरानोलाई होइन, नयाँलाई मत दिऔँ” भन्ने चर्चा चलिरहेका बेला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले आफू पुरानो चेहरा भए पनि मधेश तथा देशभर पछाडि पारिएका वर्गको अधिकार, पहिचान, विकास र सुशासनको विषयमा बुलन्द आवाज उठाउन संसदमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलबार सर्लाहीका विभिन्न पालिकामा आयोजित नेता, कार्यकर्ता तथा मतदातासँगको छलफल कार्यक्रममा नेता महतोले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक धारणा र आगामी कार्ययोजनाबारे जानकारी दिनुभयो। उहाँले संसदमा आफ्नो क्षेत्रको बुलन्द आवाज उठाउन आफूलाई मतदान गर्न सबैसँग आग्रह गर्नुभयो ।
मंगलबार सर्लाहीका विभिन्न पालिकामा आयोजित नेता, कार्यकर्ता तथा मतदातासँगको छलफल कार्यक्रममा नेता महतोले देशको समग्र राजनीतिक अवस्था, मधेशको सवाल र जनताका आधारभूत समस्या बारे आफ्नो धारणा राख्नुभयो । उहाँले विगतदेखि नै आफू मधेशी समुदाय, दलित, महिला, आदिवासी जनजाति तथा सीमान्तकृत वर्गको हकअधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै संसदमा पुगेर यी मुद्दालाई राष्ट्रिय एजेन्डाको रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेता महतोले अहिले मधेशको अधिकार खोस्ने किसिमका षड्यन्त्र भइरहेको दाबी गर्नुभयो। उहाँका अनुसार संविधानले आंशिक रुपमा दिएका अधिकारहरू कार्यान्वयनमा आउन नसक्दा मधेशी समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा पछाडि परेको छ । यस्तो अवस्थामा सजग र सचेत भएर राष्ट्रिय मुक्ति पार्टीलाई प्रतिनिधि सभामा जिताउनु आवश्यक रहेको उहाँको भनाइ थियो।
छलफलका क्रममा उहाँले सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनुभयो । स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र पहुँचका आधारमा हुने सेवा प्रवाहले आम नागरिकलाई मारमा पारेको भन्दै यसको अन्त्यका लागि कडा नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले जोड दिनुभयो। “जनताको करबाट चलेको राज्य प्रणाली जनताकै सेवामा समर्पित हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि संसदमा बलियो आवाज आवश्यक छ।”
स्थानीय मतदाताहरूले पनि छलफलका क्रममा सडक, सिँचाइ, शिक्षा र रोजगारीको विषय उठाएका थिए। किसानहरूले मल, बीउ र बजारको समस्याबारे ध्यानाकर्षण गराएका थिए भने युवाहरूले विदेश पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने माग राखेका थिए। नेता महतोले यी सबै विषयलाई नीति निर्माणको तहमा पु¥याउने प्रतिवद्धता जनाउनुभयो।
राष्ट्रिय मुक्ति पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले यस निर्वाचनलाई मधेशको अधिकार र पहिचानको सवालसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार यो चुनाव केवल व्यक्तिको जित–हार नभई मधेशी समुदायको आवाजलाई संसदमा कति बलियो बनाउने भन्ने प्रश्नसँग सम्बन्धित छ।






