back to top
18.1 C
Kathmandu
Saturday, March 7, 2026

सर्लाही क्षेत्र नम्बर–२ मा राष्ट्रिय मुक्ति पार्टीका चुनावी अभियानलाई तीव्र छन्

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही क्षेत्र नम्बर–२ मा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। पार्टी संगठन सुदृढीकरणसँगै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै महतो अहिले निरन्तर क्षेत्रमै सक्रिय देखिएका हुन् ।

सर्लाही क्षेत्र न–२ अन्तर्गतका विभिन्न गाउँपालिका र वडामा पुगेका महतोले स्थानीय कार्यकर्तासँग छलफल, संगठन विस्तार तथा निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी संरचना मजबुत बनाएका हुन्। अभियानका क्रममा उनले “जनताको आवाज, चाहना र आवश्यकताअनुसार नै आफ्नो राजनीतिक यात्रा तय हुने” स्पष्ट सन्देश दिएका छन्।

अभियानको क्रममा कौडेना गाउँपालिका वडा नम्बर–१ सुखचैनामा भएको भेटघाटमा महतोले स्थानीय मतदाताको गुनासो सुन्दै समाधानमुखी राजनीति आवश्यक रहेको बताए। त्यसपछि विष्णु गाउँपालिकामा पार्टी संगठन सुदृढ गर्दै निर्वाचन परिचालन समिति गठन गरिएको थियो। यस्तै ब्रह्मपुरी गाउँपालिका वडा नम्बर–३ भेल्हीमा पनि संगठनात्मक बैठकमार्फत कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय भएर लाग्न निर्देशन दिइएको छ।

त्यस्तै मलंगवा नगरपालिका वडा नम्बर–१२ मा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै महतोले अधिकार, पहिचान, स्वाभिमान र प्रभावकारी प्रतिनिधित्व नै आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको दोहोर्याए। “यी मुद्दामा निरन्तर संघर्ष गरेको छु, अब संसदमार्फत यसलाई अझ बलियो बनाउने समय आएको छ,” उनले भने।

स्थानीय तहमा प्रत्यक्ष भेटघाट, संगठनात्मक तयारी र मुद्दाकेन्द्रित सन्देशका कारण सर्लाही–२ मा राजेन्द्र महतोको चुनावी गतिविधिले नयाँ गति लिँदै गएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय