back to top
26.1 C
Kathmandu
Thursday, May 22, 2025

पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यमा ‘माँ’ को चौथो सम्मेलन अमेरिकामा हुने

पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यमा ‘माँ’ को चौथो सम्मेलन अमेरिकामा हुने वासिङटन डिसी, अमेरिका – “मधेशी के शान, अपन संस्कृति अपन पहचान, माँ के अभियान मधेशी के समग्र उत्थान” भन्ने मुल नाराका साथ अमेरिकामा बसोबास गर्ने मधेशी समुदायको संस्था मधेसी एसोसिएशन इन अमेरिका (माँ) ले आफ्नो चौथो सम्मेलन आगामी मे २५ तारिखमा आयोजना गर्ने भएको छ।

सम्मेलन अमेरिका राजधानी वासिङटन डिसी नजिकैको भर्जिनिया राज्यको मानसस शहरमा सम्पन्न हुनेछ। मेमोरियल डेको अवसर पारेर आयोजना हुन लागेको यस भव्य सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरूबाट मधेशीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मेलनमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष श्री राजेन्द्र महतो प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्।

साथै अमेरिकामा रहेका नेपाली राजदूत र अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहनेछ। सम्मेलनको अवसरमा नयाँ कार्यसमिति चयन गरिने, अमेरिकामा रहेका मधेशी बालबालिकालाई नेपाल र मधेश चिनाउने विशेष कार्यक्रम आयोजना गरिने, समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरिने तथा मधेश र मधेशी संस्कृतिसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ।

संस्थाका अध्यक्ष संगीत रौनियारका अनुसार सम्मेलनको सफलताका लागि विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ भने समन्वयात्मक ढंगले तयारीहरू तीव्र पारिएको छ। त्यस्तै, वरिष्ठ उपाध्यक्ष तथा इभेन्ट कोर्डिनेटर मनोज सिंहले भने, “हामी अत्यन्त उत्साहित छौं।

हामी जहाँ बसे पनि आफ्नो मातृभूमि र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने हाम्रो प्रयास निरन्तर जारी छ।” संस्थाले अमेरिका भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागिता जनाई मधेशी एकता र सहकार्य सुदृढ पार्न आग्रहसमेत गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय