सर्लाही, पर्सा — सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ का स्थानीय तस्लिम अंसारीमाथि शारीरिक तथा धार्मिक अपमान गरिएको घटनाले गम्भीर रूप लिएको छ।
पीडित अंसारीलाई घरबाट जबर्जस्ती कुटपिट गर्दै पर्सा बजारस्थित एक सुगुरको गोठमा थुनेर भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाले सर्वत्र विरोध र आक्रोश निम्त्याएको छ।
राष्ट्रिय मुस्लिम मुक्ति मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “तस्लिम अंसारीमाथि गरिएको कुटपिट तथा धार्मिक हरणको यो कार्य धर्म र समाजविरोधी मात्र नभई मानवीय मर्यादामाथि पनि गम्भीर प्रहार हो।” मञ्चले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।
साथै, कुनै पनि व्यक्तिको धार्मिक आस्थामाथि हमला गर्नु न संविधानअनुसार जायज हुन्छ, न समाजले यस्तो घटना स्वीकार गर्न सक्छ भन्दै यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरिएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ कि “कुनै पनि व्यक्तिको धार्मिक तथा सामाजिक हनन समाजले स्वीकार गर्न सक्दैन र यस प्रकारको आपराधिक प्रवृत्तिलाई कडा रूपमा नियन्त्रण गर्नु राज्यको कर्तव्य हो।”
हाल घटनाबारे स्थानीय प्रशासनबाट थप जानकारी लिने प्रयास भइरहेको छ।