काठमाडौँको नक्कली कागजात बनाउने कारखानाबाट ओखलढुंगाका एक सहित तीन जना पक्राउ परेका छन् ।
सरकारी तथा वैंक वित्तिय संस्थाका कागजातहरु कीर्ते गरी नक्कली बनाउने कारखानामा छापा मारेर प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अोखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का, गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।
सो समुहले तारकेशवर नगरपालिका–७ मा कार्यालय नै खडा गरेर सरकारी कागजातहरु नक्कली बनाउने गरेको पाईएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो । प्रहरी अनुसार उनीहरुले सरकारी कागजातहरु, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजात, वैंक तथा वित्तिय संस्थाका नक्कली कागजातहरु बनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले नक्कली कागजात डिजाइनको लागि दुई जना सहयोगीलाई मासिक दश हजारदेखि १५ हजारसम्म तलब दिएर कार्यकाय सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह सर्टिफिकेटदेखि बैङ्कबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको खुलेको छ । यस्तै, विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
यस्तै उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु उपलब्ध गराउने, जापान लगायतका देशहरूमा कामदार भिसामा जानको लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव समेत पत्र बनाइ दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड आवेदनको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेको पाइएको छ । साथै, भिजिट भिसाको लागि ’क’ वर्गका सबै बैङ्कको नक्कली बैङ्क स्टेटमेन्ट समेत बनाइदिने गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
उनीहरुलाई हिजो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले छापा मारेर पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाईएको छ ।