जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सरकारले यो वर्षको नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेटेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।
नेपालपनि आर्थिक रुपमा संकटमा नै रहेको कुरा महतोले सनाए । लक्ष्य लिएअनुसारको राजश्व नउठेकोको त्यहीअनुसारको विस्तृत नीति तथा कार्यक्रम बनाउन नसकिएको पनि उनको गुनासो छ । हरेक वर्ष कृषिको लागि पनि नयाँ नयाँ कार्यक्रम ल्याईएको भएपनि किसानलाई राहत हुनेगरि काम गर्न नसकिएको उनको गुनासो छ ।
उनले बजेटको आकारको कारण आफूहरुले चाहेकोजस्तो सबै कार्यक्रम अटाउन नसकिने स्विकारे । उनले देश धनी भयो भने जनता सुखी हुने कुरा सुनाए । मुठ्ठीभरका मान्छे धनी हुँदैमा देश धनी हुन नसक्ने उनको भनाई छ । नीति तथा कार्यक्रम बनाउनको लागि दुई महिना अघिमात्रै अर्थमन्त्रालय तात्ने गरेको र सांसदहरु आफ्नो क्षेत्रमा बजेट लैजानको लागि तात्ने गरेको पनि उनले स्मरण गराए ।
उनले समयअभावको कारण देशको लागि बजेट नबन्ने र कामचलाउ बन्ने गरेको गुनासो पोखे । उनले बजेट बनाउनको लागि एक वर्षअघि नै सर्वदलीय सहमतिमा समिति गठन गर्ने र त्यसमा विज्ञहरुलाई संलग्न गराउनुपर्ने सुझाव दिए । दुई महिनाको मेहनतले बनाईएको नीति तथा कार्यक्रम, वा बजेटले देशलाई कहीँ कतै पुर्याउन नसक्ने उनको ठोकुवा छ ।