जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संविधान संशोधनको एजेण्डामा छलफल र सहमति आवश्यक रहेको बताएका छन् । संविधान संशोधनबारे शुक्रबार आफ्नो धारणा राख्दै बस्नेतले संविधानमा मुख्य गरी शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीय संरचनालगायतका एजेण्डामा सर्वदलीय र सर्वपक्षीय छलफल र सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।
‘संविधान संशोधनको विषय कांग्रेस, एमालेको मात्र सरोकारको विषय हैन, यो आम नागरिकको सवाल हो । कांग्रेस एमालले भनेजस्तो सरकारको स्थायीत्वको लागि संविधान संशोधन गर्ने भन्ने कुरा संकीर्ण धारणा हो, यसले मुलुकलाई निकास दिन सक्दैन,’ बस्नेतले भने ।
सुशासनको प्रत्याभूति, वर्गीय र जातीय विभेदको अन्त्य, उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन हुनुपर्ने उनको धारणा छ ।