जनकपुरधाम । मधेश प्रदेशमा भएको उपचुनावमा जनता समाजवादी पार्टी, नेपालले प्रतिष्ठा जोगाएको छ । चार जिल्लाको सात वडामा सम्पन्न उपचुनावमा दुईमा जसपा, नेपालले जित निकाल्दै प्रतिष्ठा जोगाएको हो । २०७९ को चुनावमा रौतहटको गढिमाई नगरपालिका–८ मा जसपा, नेपालले जित निकालेको थियो । गढिमाई नगपालिका–८ मा जित दोहोर्याउन नसकेपनि सप्तरीमा गुमाएको जनआधार केहीहदसम्म फर्काउन सफल भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा आइतबार सम्पन्न उपचुनावमा जसपा, नेपालका उम्मेदवार विजयी भएको छ ।
डाक्नेश्वरी–१ जसपा नेपालका धिरेन्द्र कुमार साहले ६५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् भने वडा नं. ४ मा जसपा नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादव ३७२ मतसहित विजयी भएका हुन् । २०७९ को निर्वाचनमा दुवै वडा नेपाली कांग्रेसले जितेको थियो । तर, उपचुनावमा जसपा, नेपालले २०७९ को असफलतालाई बिर्सिदै केहीहदसम्म आफ्नो जनाधार फर्काउन सफल भएको जानकारीहरु बताउँछन् ।
मधेशवादी दलप्रति जुनतरिकाले अफवाह फैलाइएको छ, त्यो बास्तवमा जनताबीच छैन् । जनताले अझै मधेशवादी दललाई रुचाएका छन् । मधेशी नेताहरु सच्चिएर आएमा आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न सक्ने तर्क राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाको छ ।
मधेशवादी दलले विश्वास गुमाएको अफवाह मात्र हो, डा. झाले भने–उपचुनावको नतिजाले जनता मधेशवादी दलको साथमा रहेको प्रमाणित गरेको छ ।
२०७९ को चुनावमा जसपा, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पनि पराजय व्यहोरेको थियो । गएको बैशाख महिनामा पार्टी विभाजित भएपछि जसपा, नेपालका लागि उपचुनाव प्रतिष्ठाको विषय बनेको थियो । मधेशका सात मध्ये ६ वटा वडामा उम्मेदवारी दिएको जसपा, नेपालले २ मा जित निकालेको छ । २०७९ मा निर्वाचित गढिमाई नगरपालिका–८ गुमाएपनि सप्तरीका दुवै वडामा जित निकाल्न सफल भएको हो । धनुषाधाम नगरपालिका–१ मा जसपा, नेपालका उम्मेदवार अजय कुमार यादवले ४९९ मत प्राप्त गरेर तेश्रो स्थानमा रहे । रौतहटको राजपुर नगरपालिका–६ मा जसपा, नेपालले उम्मेदवारी दिएको थिएन् ।
जोगिएन् जनमतको जमानत
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका पाँच जना उम्मेदवारको जमानत जफ्त भएको छ । धनुषाको धनुषाधाम–१ मा उम्मेदवारी दिएका कुशेश्वर मण्डलले २५ मत प्राप्त गरेका छन् । २०७९ को चुनावमा जनमतले उठाएको उम्मेदवारले ९ मत प्राप्त गरेका थिए ।
रौतहट जिल्लाको गढिमाई नगरपालिका–८ मा जनमतका उम्मेदवार सुरेनद्र राउतले जम्मा ८ मत प्राप्त गरेर छैठौ स्थानमा रहे । गढीमाईमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बजरंगी यादव ६ सय ५५ मत ल्याएर निर्वाचित भएका छन् ।
रौतहटको इशनाथ नगरपालिका–७ बाट जनमत उम्मेदवार शेष जमिरुल हक १३५ मत ल्याएर चौथो स्थानमा चित्त बुझाए । इशनाथ–७ मा कांग्रेसका शेष अब्दुल खलिकले ६२७ मत ल्याएर विजयी भएका छन् । रौतहटको राजपुर नगरपालिका–६ मा जनमत पार्टीका उम्मेदवार कयामुद्दिन धुनियाले ४५ मत ल्याएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा जनमतका उम्मेदवार शैलेन्द्र साहले ७४ मत पाएका छन् ।
डाक्नेश्वरी–४ मा उदयनारायण पण्डितले २३१ मत ल्याएर तेश्रो भएका छन् ।
सप्तरी जिल्लाले उपचुनावमा कोर्स करेक्शन गरेर जनमतलाई अस्वीकार गरेको राजनीतिक विश्लेषक डा. झाले बताए ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री सतिश कुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटम मन्त्री सकिल अलि मियाँ, वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उपसभामुख बबिता कुमारी राउ इशर जनमत पार्टीकै छन् ।
कांग्रेस कमजोर हुँदै
मधेशमा नेपाली कांग्रेसको दुई दलीय व्यवस्थालाई जनताले अस्वीकार गरेको छ ।
कांग्रेसको सत्तामुखि राजनीतिकलाई मधेशले स्वीकार नगरेको राजनीतिक विश्लेषक डा. झाले भने–सत्ताको उपयोगलाई जनताले नकारेका छन् ।
उपचुनाव भएको सात मध्ये चार वटा वडा नेपाली कांगे्रसले जितेको थियो । आइतबार सम्पन्न उपचुनावमा कांग्रेसले २ वटा वडा गुमाउनुपरेको छ । धनुषाधाम–१ मा लगातार दुई चुनावमा जित निकालेको कांग्रेसले उपचुनावमा जोगाउन सकेन् । विश्वनाथ यादवले २०७४ र २०७९ को चुनावमा सहज जित निकाल्दै कांग्रेसलाई नगर प्रमुख जिताउन पनि मद्दत गरेका थिए । उनको निधनपछि भएको उपचुनावमा नगर प्रमुख बालेश्वर मण्डलको आफन्तलाई उठाएपनि जिताउन भने सकेन् ।
नगर प्रमुख मण्डलको वडासमेत रहेको १ मा कांग्रेसका केन्द्रीय नेताहरुले पनि आफ्नो उम्मेदवार अशोक मण्डलको पक्षमा प्रचार गरेका थिए ।
रामगोपालपुर–२ मा कांगे्रस तेश्रो स्थानमा रहे भने २०७९ मा जितेको डाक्नेश्वरी–१ मा भुलिया देवी थरुनी ५८७ मत प्राप्त गरेर दोश्रो स्थानमा रहिन् । डाक्नेश्वरी–४ मा पनि जोगिन्दर राय अमातले २७७ मत ल्याएर दोश्रो भए । रौतहटको इशनाथ नगरपालिका–७ कांगे्रसले जोगाएको छ । कांगे्रसका उम्मेदवार शेष अब्दुल खलिकले ६२७ मत ल्याएर विजयी भएका छन् । २०७९ को चुनावमा पनि कांग्रेस नै जितेको थियो । राजपुर–६ मा कांग्रेसका समसे आलमले ७४४ मत ल्याएर विजयी भएका छन् ।
यहाँ २०७९ मा एमालेका उम्मेदवार विजयी भएको थियो । गढीमाई–८ मा कांगे्रसका सुबोध कुमार यादवले ६१७ मत ल्याएर तेश्रो स्थान पाए ।
नेकपा एमालेले राजपुर–६ गुमाए पनि महोत्तरीको रामगोपालपुर–२ जितेको छ । एमालेका सकिबुल खाँ ६३१ मत ल्याएर निर्वाचित भएका छन् । उक्त वडा मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको वडा पनि छ ।