back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

पर्साको ग्रामीण भेगका किसान धान भित्र्याउन व्यस्त

नवल प्रसाद यादव , पर्सा: पर्साको ग्रामीण क्षेत्रमा रहेका किसानहरू अहिले वार्षिक बाली धान भित्र्याउन निकै व्यस्त छन्। धान बाली पूर्ण रूपमा पाकिसकेकाले किसानहरूले धान कटानी र थ्रेसिङको कामलाई तीव्रता दिएका छन्।

सो क्षेत्रका किसानहरूले मुख्य रूपमा सोना मंसुली र मोटरी मंसुली धान कटानी गरिरहेका छन्। जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी र पर्सागढीका केही किसानहरूले सोना सारो, भदैया मंसुली, कतरनी, तथा उन्नत जात (हाइब्रिड)का धान भित्र्याइसकेका छन्। तर, अन्य परम्परागत जातका धानहरूको कटानी भने भर्खरै सुरु भएको छ।

*आधुनिक मेसिनले सजिलो, तर चुनौती पनि*
सखुवा प्रसौनी गाउँपालिका–३ का किसान सुनिल यादवका अनुसार आधुनिक कृषि मेसिनरीको प्रयोगले धान कटानी र थ्रेसिङमा सहजता ल्याएको छ। हार्भेस्टर, रिपर, र थ्रेसर जस्ता उपकरणहरूले काम छिटो र सजिलो बनाएका छन्। तर, यिनको प्रयोगले केही समस्याहरू पनि निम्त्याएको छ।

हार्भेस्टरको प्रयोगले धान कटानी गर्दा पराल खेतमै छरिने भएकाले पशुचौपायाका लागि आवश्यक पराल जम्मा गर्न कठिनाइ भएको छ। जिराभवानी गाउँपालिका–२ शान्तिनगरकी किसान दधिमाया पौडेलका अनुसार गाईवस्तुका लागि मुख्य आहार पराल हो। हार्भेस्टरबाट कटानी गर्दा पराल संकलन गर्न नसकिने र यसले पशुपालनमा समस्या निम्त्याएको छ।

सखुवा प्रसौनीका अर्का किसान पृथ्वीनारायण साहले परम्परागत विधिबाट धान कटानी गर्दा परालको राम्रो व्यवस्थापन हुने बताए। तर, हार्भेस्टरले कटानी गरेको धान घर भित्र्याउनुअघि भिजेको अवस्थामा घाममा ५-६ दिनसम्म सुकाउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे। यसले गर्दा किसानहरूलाई थप झन्झट भएको छ।

*मौसमको चुनौती*
यस वर्षको मौसमले पनि किसानलाई साथ नदिएको छ। राम्रो घाम नलागेका कारण धान सुकाउन समस्या भइरहेको छ। साहका अनुसार बिहान धान सुकाउन फिजाउने, साँझ जम्मा गरी पालले छोप्ने जस्ता झन्झट गर्नुपरेको छ। यसले किसानहरूको श्रम दोब्बर भएको छ।

*समाधानको आवश्यकता*
आधुनिक मेसिनरीले समय र श्रमको बचत गरे पनि पराल व्यवस्थापन र मौसमका कारण किसानले धेरै चुनौती झेल्नु परेको छ। पराल संकलनको समस्यालाई समाधान गर्न, कृषि विभागले किसानलाई आवश्यक मेसिनरी र प्राविधिक सहयोग दिनुपर्ने माग किसानहरूले गरेका छन्।

धान कटानी र थ्रेसिङको यस व्यस्त समयमा, कृषि क्षेत्रमा देखिएका यस्ता चुनौती समाधान गर्न सरकारी निकाय र सरोकारवालाहरूले चाँडो कदम चाल्नुपर्ने किसानहरूको धारणा छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय