राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लागिएको छ । रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।
लामिछानेलाई बिहान ७ः०० को उडान मार्फत रूपन्देही लैजाने भनिएपनि अहिले ८ः४० सम्म उडान नभएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरीले लामिछानेलाई बिहान ६ः३० मा विमानस्थलका लागि तयार हुन भने पनि ५ बजेनै विमानस्थल पुर्याएको थियो । अहिले पोखरा विमानस्थलको सुरक्षा कडा पारिएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। लामिछानेलाई बुटवल लैजाने भएपछि रास्वपा तथा लामिछाने समर्थकले दिउसो ११ बजेबाट बुटवलमा प्रदर्शन गर्दै छन् ।