मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को वर्षदेखि एमबीबीएसको अध्ययन अध्यापन सुरु गर्ने भएको छ। चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेसँगै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक वर्ष २०८१२०८२ देखि अध्ययन अध्यापन हुने बाटो खुलेको हो।
मधेसमा पहिलो पटक सरकारी स्तरबाट एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेस प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट चिकित्साशास्त्रतर्फ ५० सिट उच्च शिक्षाको लागि सुनिश्चित गरेको रजिष्ट्रार डा. विनोद कुमार यादवले जानकारी दिए।
प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने भएको प्रतिष्ठानका रजिष्टार डा. विनोदकुमार यादवले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘जसमा मधेस प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाउने र मधेस प्रदेशका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरेका छौं।’
‘एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो। सिङ्गो मधेस प्रदेशका लागि सरकारी स्तरबाट एमबीबीएसको पढाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछ,’ उपकूलपति डा. अंकुर साहले भने, ‘प्रतिष्ठानले करिब ४ वर्षपछि एमबीबीएस पठन-पाठनका लागि आयोगबाट अनुमति पाएको हो।’
मधेस मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबीबीएसको अध्ययन-अध्यापन आरम्भ हुनु प्रदेशको गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानको लागि उच्च प्राथमिकतामा राखेर स्रोश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णयहरू गरेको बताए।