गृहमन्त्री रमेश लेखकले देशमा अर्थतन्त्रलाई चलायमान गर्नका लागि दुई ठूला पार्टीको गठबन्धनको सरकार बनेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए।
उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए। उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पारे। त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको बताए।